एक सयमा एक रात ।

Hotel Baglungबाग्लुङ, १६ पुस
अङ्गेजी नयाँ वर्षमा पर्यटक आकर्षित गर्न बाग्लुङका होटल व्यवसायीले पर्यटकलाई एक सय रुपैयाँमै एउटा कोठा उपलब्ध गराउने भएका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले नयाँ बर्षको दिन सोमबार साङ्गीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित गरी व्यवसायीले सोमबार एक दिनलाई एक सय रुपैयामा कोठा दिने निर्णय गरेका हुन् ।

पर्यटन विकास समितिको अनुरोधमा सोमबारका लागि सदरमुकामका विभिन्न १० होटलले रु १०० मा १०० कोठा उपलब्ध गराउने समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । नयाँ वर्ष मनाउन बाग्लुङमा पर्यटक भित्र्याउने उद्देश्यका साथ विशेष छुटको ब्यवस्था गरिएको उहाँको भनाई छ । खाना, नास्तामा भने चल्तीकै दर कायम गरिनेछ । पाहुनाको चाप भएमा अन्य होटल पनि छुटमा कोठा दिन तयार रहेको र साङ्गीतिक साँझमा विभिन्न कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

समितिले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको छ । सरकारले हालैमात्र कालिका भगवती मन्दिर, ढोरपाटन, भकुण्डे, भैरवस्थान र गाजाको दहलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेपछि पर्यटन क्षेत्रमा आशा जागेको स्थानीयको भनाई छ ।