गाउँलेले बनाए पर्यटकियस्थल ।

नेपाल ट्राभल न्युज, म्याग्दी, १६ पुस

अन्नपूर्ण गाउँपालिकाका स्थानीयले, आफ्नै प्रयासमा काफलडाँडास्थित करबाकेलीलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरेका छन् ।

स्थानीयले, चन्दामार्फत दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण गरिएको करबाकेलीका संरक्षक चामबहादुर पुनले बताउनुभयो । त्यसका लागि म्याग्दीलगायत देश र विदेशमा रहेको पुन समुदायबाट चन्दा संकलन गरिएको उहाँको भनाई छ ।

त्यहाँ पहिलो पटक २०६९ मङ्सिरमा ७४ लाख लगानीमा स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान निर्माण गरिएको थियो । करबाकेली परिसरमा करीब एक हजार क्षमताको सभाहल निर्माण गर्नुका साथै बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान समेत बनाइएको छ ।

समुन्द्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको करबाकेलीबाट गुर्जा, धौलागिरि, नीलगिरि, माछापुच्छ्र, अन्नपूर्ण, टुकुचेलगायत १० हिमशृखलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृष्य देखिन्छ ।