तनहुँको पर्यटन ब्यवसायीहरु एकजुट

काठमाडौँ, २४ पुस ः तनहुँका पर्यटन ब्यवसायीहरुले जिल्लाको पर्यटकिय विकासका लागि एक जुट हुनुपर्ने बताएका छन् । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिएका हुन् ।

पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिदै उनीहरुले तनहुँ हुदै पोखरा जाने पर्यटकमध्ये केही पर्यटकलाई तनहुँको पर्यटकिय क्षेत्रको भ्रमण गराउन सके मात्रै पनि यहाँको पर्यटन विकासमा ठूलो सहयोग पुग्नेछ बताएका छन् । समाजका संस्थापक अध्यक्ष राजन पन्त तनहुँ क्षेत्रको पर्यटन विकासका लागि व्यास परासर, बन्दिपुर, भानु, तनहुँसुर, छिम्केश्वरी, देवघाट, सेती नदी, थानी माईको मन्दिर, मिर्लुङकोट तनहुँका प्रमुख पर्यटकीय गन्तव्यस्थलहरु रहेको भन्दै यी क्षेत्रको प्रचार प्रसारमा लाग्ने बताउनु भयो । समाजका अध्यक्ष शेखरबहादुर थापा तनहुँको पर्यटन विकासका लागि तनहुँका पर्यटन व्यवसायी हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै सो क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको ठूलो भुमिका हुने बताउनु भयो । तनहुँको व्यास–परासर र सिद्धगुफा भिमाद क्षेत्र पनि सरकारले सन् २०२० का लागि चयन गरेको १०० वटा पर्यटकीय क्षेत्रको सूचीमा परेको छ ।

साधारण सभाले गुप्तबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा शुक्रकुमार श्रेष्ठ, महासचिव दामोदर थापा, सचिव राजेन्द्र जिसी, कोषाध्यक्ष भुवन श्रेष्ठ, सहकोषाध्यक्ष सुमित्रा ढकाल र सदस्यमा केशवलाल श्रेष्ठ, क्षितिज गैरे, राजु गैरे र शुकबहादुर लामा निर्वाचित हुनुभएको छ ।