तारेभिर महोत्सव माघ एकमा

काठमाडौँ, २४ पुस ः शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण तारेभिर डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न माघ १ गते पाँचौँ तारेभिर महोत्सव हुने भएको छ । महोत्सवमा तारेभिरको सौन्दर्यसँगै तामाङ जातिको संस्कृति, वेशभूषा र नाचगान लगायतका कार्यक्रम राखिने आयोजकले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–३ मा रहेको तारेभिरबाट उपत्यकाका प्रायः सबै भागका साथै हिमाली शृङ्खला अवलोकन गर्न सकिने भएकोले यहाँको प्रचारप्रसार गर्ने उद्देश्यले विसं २०७० देखि महोत्सवको आयोजना शुरु गरिएको हो । जनप्रतिनिधि, स्थानीय तह र स्थानीयवासीको सहकार्यमा शुरु भएको महोत्सवकै कारण तारेभिर आन्तरिकका साथै बाह्य पर्यटकको गन्तव्य बन्न थालेको महोत्सव आयोजक समितिका सहसंयोजक हर्क तामाङले बताउनुभयो । पर्यटक आउन थालेपछि स्थनीयवासीले घरबास (होमस्टे) सञ्चालन गर्ने योजना बनाएका छन् ।

नगरपालिकाले जगडोल–तारेभिर–सुन्दरीजललाई जोडेर पदमार्गको विकास गरी यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने कार्यक्रम बनाएको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो । यो स्थलमा केबलकार बनाउन शुरु भइसकेको नगरपालिकाले जनाएको छ । परापूर्वकालमा तारेभिरमा गुफा थियो । गुफामा भगवान् महादेव बस्नुहुन्थ्यो । विवाह, व्रतबन्धजस्ता धार्मिक कृत्यमा भाँडाकुँडालगायत सामग्री आवश्यक पर्दा गुफामा गएर माग्दा पाइन्थ्यो । धार्मिक कार्यक्रम सकिएपछि माग्नेले भाँडा माझेर गुफामै लगेर राख्ने गर्थे । एक जनाले भाँडा नमाझी राखिदिँदा गुफा बन्द भई भाँडा पाउन छोडेको किंवदन्ती यहाँका स्थानीयवासीमा प्रचलित छ ।