भोटेओडारमा महोत्सव

 

लमजुङ, ५ माघ ः

लमजुङमा ‘भोटेओडार महोत्सव’ हुने भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घ भोटेओडार इकाइको आयोजनामा सुन्दरबजार नगरपालिकाभित्रकामा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि यही माघ १८ देखि २७ गतेसम्म भोेटेओडार महोत्सव हुने भएको हो । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न ३५१ सदस्यीय मूलआयोजक समिति र विभिन्न २८ उपसमिति गठन गरिएको छ । महोत्सवमा १५० स्टल राख्ने आयोजकले जनाएको छ ।

‘समृद्ध भोटेओडारको मूलआधार, पर्यटन प्रवद्र्धन, उद्योग व्यापार, परम्परागत सीप, कला र संस्कृतिको संरक्षण’ भन्ने मूलनाराका साथ शुरु हुने महोत्सवमा करीब एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवको मुख्य उद्देश्य तार्कुकोटमा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण, भोटेओडारको मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान, भक्ति नमूना माविको विशेष कक्षामा पढ्ने विद्यार्थीका लागि सहयोग गर्नु रहेको लमजुङ उद्योग वाणिज्य सङ्घ भोटेओडार इकाइका अध्यक्ष एवं महोत्सवका संयोजक सुरजकुमार श्रेष्ठले बताउनुभयो । औद्योगिक तथा व्यापारिक प्रदर्शनी, विज्ञान प्रतियोगिता, प्याराग्लाईडिङ उडान, माविस्तरीय लोक नृत्य प्रतियोगिता, जातीय सांस्कृति झलक, नाटक प्रदर्शनी गरिने महोत्सवमा भोटेओडार युथ सोसाइटी र बुद्धयुथ क्लबको पनि सहयोग रहने महोत्सव सचिवालयका संयोजक रेवतीकुमार श्रेष्ठको भनाई छ ।

महोत्समा बाल उद्यान, स्थानीय कृषि, घरेलु तथा हस्तकला, प्रदर्शनी, स्थानीय फोटो प्रदर्शनी, परम्परागत खाना महोत्सव, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, झाँकी तथा ¥याली प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।