ग्रामीण पर्यटन विकासका लागि : स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड हुने

नेपाल ट्राभल न्युज, काठमाडौँ, ८ माघ :

स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नारासाथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते ग्रामीण क्षेत्रमा पर्यटन विकास र प्रवद्र्धनको लागि यो प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमा संस्थाका प्रमुख सल्लाहकार एवं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेका युथ को–अर्डिनेटर लालबहादुर गुरुङले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता आयोजना गर्न सकिने सूचना मार्फत अन्तराष्ट्रियस्तरमा ग्रामीण पर्यटन विकासका लागि गर्न उक्त प्रतियोगिता गर्न लागिएको उहाँको भनाई छ ।

प्रतियोगिताका बेला स्थानीय सोरठी, घाँटु, कौरा, चुड्का, सालैजोलगायतका स्थानीय झाँकी प्रदर्शन हुने बताइएको छ । क्रसकन्ट्री दौड १४ किमी (२१ वर्षमुनिका) र ३१ किमी (खुला) दुई समूह बिहान ९ बजे शुरु हुनेछ । पुतलीबजार–९ कोल्मा बराहचौरबाट शुरु भई पुतलीबजार–८, शुक्लागण्डकी–९ तनहुँ र बिरुवा गाउँपालिका–४ बाट पुतलीबजार–९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीयलाई रु १० हजार पुरस्कार दिइनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार, तृतीय हुनेलाई रु ३० हजारको पुरस्कार दिइनेछ । नयाँ पुस्ता आफ्नै गाउँदेखि बेखबरमात्रै भएनन, इतिहास र आफ्नो धरातल बिर्सिंदै जाने क्रम बढेकाले पनि सबैको ध्यान तान्न स्थानीय ठाउँहरुको प्रर्वद्धन आवश्यक भइसकेको आयोजकको भनाई छ । प्रतियोगिता सम्पन्न भएपछि भविष्यमा साइकल रुट निर्माण गरी साइकिलिङ गर्ने, पौडी पोखरी निर्माण गरी प्रतियोगिता आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जानकारी दिनुभयो।