उदयपुरको बेलदोभानमा केबलकार सञ्चालन हुने : बृहत गुरुयोजना शुरु

 

नेपाल ट्राभल न्युज, गाईघाट, ९ माघ :  उदयपुरको बेलदोभानमा केबलकार सञ्चालन हुने भएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको हो । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव चौधरीले बताउनुभयो ।

जिल्लाकोे सदरमुकाम गाईघाटदेखि करीब १९ किलोमिटर उत्तरी पहाडी क्षेत्रको दूरीमा रहेको रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि झण्डै चार अर्ब रुपैयाँ खर्च लाग्ने बताइएको छ । तीन अर्ब लगानी गर्न विभिन्न केबलकार कम्पनीसँग छलफल भएको र बाँकी एक अर्बमध्ये ५० करोड त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाले तीन वर्ष्भित्र लगानी गरिसक्ने तयारी छ । दुई महीनाभित्र सर्भे सम्पन्न गरेर आर्थिक वर्ष २०७६÷७७ बाट गाईघाट–बेलदोभान हुँदै पहाडी क्षेत्रको धार्मिक पर्यटकीय र तीर्थस्थल रौतासम्म केबलकार सञ्चालनको योजना शुरु हुनेछ । केबलकार सञ्चालनमा आएपछि जिल्लाकै सबैभन्दा महत्वपूर्ण धार्मिक र पर्यटकीयस्थलको रुपमा रहेको रौता क्षेत्रसम्म आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुँदा जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

रौता पौखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा अहिले दैनिक २०० सम्म भक्तजन पूजा गर्न जाने गरेका छन् भने अन्य प्राकृतिक दृश्यावालेकन गर्नेको सङ्ख्या पनि दैनिक सयौँको हाराहारी पुग्ने गरेका छन् ।समुन्द्री सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा अवस्थित रौताबाट उत्तरतिर सगरमाथा हिमाल, ओखलढुङ्गा, सोलु क्षेत्र, खोटाङको दिक्तेल, हलेसी देख्न सकिन्छ ।