रमितेमा कृषि पर्यटन

नेपाल ट्राभल न्युज, झापा ९ माघ : मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पर्यटनको गन्तव्य बनाउने काम शुरु गरिएको छ । प्रदेश नं १ का १४ वटै जिल्ला देख्न सकिने मिक्लाजुङ डाँडा, रमणीय वातावरण तथा धार्मिक क्षेत्रमा समेत उत्तिकै महत्व बोकेको यस क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको छ ।

गाउँपालिकाले सो क्षेत्रलाई कृषि पर्यटनको पकेटक्षेत्र बनाउन भन्दै रमितेका १२४ परिवारलाई १२ हजार कफीका बिरुवा वितरण गरेर कृषि क्षेत्रका रुपमा अघि बढाइको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । त्यस्तै, १० हजार रुद्राक्षका बिरुवा वितरण गर्ने तयारी भइरहेको छ । भोजपुरबाट खरीद गरी ल्याइएका १० हजार बिरुवा वडा नं १ का उपभोक्तालाई वितरण गरिने बताइएको छ । गाउँपालिकाको एक लाख ५० हजार, प्रदेश नं १ सरकारबाट एक लाख ५० हजार र स्थानीयवासीबाट तीन लाख लगानीमा रुद्राक्षको बिरुवा खरीद गरिएको जनाइएको छ ।सो क्षेत्रमा अलैँची, अम्लिसोलगायतका प्रमुख नगदेबाली उत्पादन हुने गरेको छ ।

रमिते पुग्ने सडक हिउँदको समयमा सञ्चालनमा आए पनि वर्षायाममा पहिरो तथा हिलाम्मे हुँदा स्थानीयवासीले सास्ती खेप्दै आएका छन् ।