दोलखाको जिरीमा पर्यटकलाई ५० प्रतिशत छुट

जिरी, १६ माघ २०७५ : दोलखाको पर्यटकीय क्षेत्र जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । जिरीका होटल व्यवसायीहरुले जिरी भ्रमणमा आउने पाहुनाका लागि आर्कषित गर्ने उद्देश्य सहित होटलको कोठामा पहिलेको भन्दा ५० प्रतिशतले छुट दिने  घोषणा गरेका हुन् । जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले जुनसुकै स्तरको होटलमा चलनचल्तीको मूल्यमा ५० प्रतिशत छुट दिएर कोठा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । सगरमाथाको प्रवेशद्धार मानिए पछि पछिल्लो समय बाह्य पर्यटकहरु जिरीभन्दा सोझै सल्लेरी र बाम्ती पुगेपछि जिरीमा पर्यटकको बसाइँ लम्ब्याउन पहल शुरु गरिएको उहाँको भनाई छ । त्यसका लागि  स्थानीय गाइडको समेत व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो । त्यस्तै खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको होटल व्यवसायीसमेत रहनुभएका जिरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो । सगरमाथाको प्रवेशद्वारको रुपमा लिइने जिरीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने लक्ष्य राखिएको ब्यवसायीहरुको भनाई छ । स्थानीय सरकारले पनि जिरीमा पर्यटन प्रवद्र्धनका लागि क्लिन जिरी, ग्रिन जिरी, अर्गा्निक जिरी अभियान नै शुरु गरेको छ ।