विश्वयात्री डेनिस रेडक्रसका सद्भावनादूत नेपालमा

काठमाडौँ, १६ माघ २०७५ :

डेनिस रेडक्रसका सद्भावनादूत विश्वयात्री सी पेडर्सन थोर विश्वयात्राका क्रममा नेपाल आइपुग्नुभएको छ । हालसम्म कुनै उडान नगरी स्थल र जलमार्गको प्रयोग गरी उहाँ विश्व भ्रमणमा नयाँ कीर्तिमान कायम गर्ने क्रममा थोर सोमबार नेपाल आइपुग्नु भएको हो ।

विश्वयात्राका क्रममा १ सय ७८ राष्ट्रको भ्रमण गरेका थोरको नेपाल १ सय ७९ औँ मुलुक हो । सन् २०१३ देखि हालसम्म दुईलाख ४३ हजार किलोमिटर यात्रा पार गरिसकेका थोरले  विश्वका २०० मुलुकको भ्रमण सकेर मात्र स्वदेश फर्किने बताउनु भएको छ । सद्भावनादूत थोरले नेपाल भ्रमणका क्रममा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार तथा पाटन दरबारको पनि अवलोकन गर्नुभएको नेपाल रेडक्रस सोसाइटीका सञ्चार विभाग प्रमुख दीव्यराज पौडेलले जानकारी दिनुभयो ।