गुराँसको राजधानी जोगाउन ध्यानाकर्षण

 

तेह्रथुम, १६ माघ २०७५ :

तेह्रथुमको लालीगुराँस नगरपालिकाले तीनजुरे मिल्के जलजले क्षेत्रको गुराँस वन मासेर कोशी करिडोर विद्युत् प्रशारण लाइन निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । आयोजना निर्माण हुँदा ‘गुराँसको राजधानी’ उपनामले चिनिने सो क्षेत्रको गुराँस वन नष्ट हुने आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण घट्ने भन्दै नगरपालिकाले  आयोजना निर्माणबारे सोच्न ध्यानाकर्षण गराएको छ । सो क्षेत्रको वनमा २८ प्रजातिका गुराँस फुल्ने कारण विश्वभर चर्चित वन क्षेत्रमा कोरिडोर निर्माण हुदाँ गुराँस वनसमेत नष्ट हुने र दीर्घकालीन रुपमा समेत गुराँस वन र यहाँको जैविक विविधतालाई असर पु¥याउने मात्रै नभई पर्यटकिय सम्भावनालाई समेत धक्का पुग्ने नगरपालिकाको ठहर छ । तर, करिडोरको प्रशारण लाइन निर्माण गर्दा टिएमजे क्षेत्रका सामुदायिक वनमा मात्रै दुई हजार ७०० भन्दा बढी रुख काट्ने आयोजनाको प्रारम्भिक तयारी रहेको छ । विश्वमा पाइने ४२ मध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ ।