पर्यटनका लागि, म्याराथन

दमौली, १६ माघ २०७५ :

शहीद दिवसका अवसरमा आज व्यास नगरपालिकाले दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको आयोजना गरेको छ । नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता  आयोजना गरिएको बताउनुभयो ।

मानहुँबाट शुरु भएर नगरपालिकाको वडा नं ८ पुलिमराङमा टुङ्गिने म्याराथनको दूरी ४४ किमी रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैँचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगितामा प्रथमलाई रु ८० हजार, दोस्रोलाई रु ६० हजार, तेस्रोलाई रु ५० हजार र सान्त्वना हुने पाँच जनालाई रु १५÷१५ हजार प्रदान गरिनेछ । गत वर्ष आयोजना गरिएको प्रथम व्यास नगर अल्ट्रा म्याराथनमा तीस जिल्लाका १४४ धावकको सहभागिता थियो ।