पर्यटकको आर्कषण फेवातालको सौन्दर्य फर्काइदै  

 

पोखरा, १६ माघ २०७५ : पोखराको मुटु मानिने फेवातालको सौन्दर्य बढाउने प्रयास शुरु गरिएको छ फेवाताल नेपालको मात्र नभइ विश्वकै गहना भएकाले यसको सौन्दर्य जोगाउनु सबैको दायित्व भएको भन्दै स्थानीय सरकारको विशेष पहलमा ताल पुरिएको क्षेत्रको माटो निकाल्ने तथा सरसफाई गर्ने काम शुरु गरिएको हो । फेवा संरक्षणमा प्रदेश सरकारसँग समन्वय गरेर तालको सौन्दर्यसँगै आकार बढाउन भन्दै  हर्पन र खहरे खोलाले बगाएर ल्याएको ग्रेगान माटोले पुरिँदै गएको फेवातालको माटो पोखरा महानगरपालिकाले निकाल्न शुरु गरेको छ । फेवाताललाई आफ्नै स्वरुपमा फर्काउन चेकड्याम बनाएर तालको क्षेत्रफल बढाउन महानगर लागि परेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिनुभयो । करीब चार रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन करीब दुई साता लाग्ने बताइएको छ । पौडेलले फेवाताल संरक्षणमा महानगरले चालू आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरेको बताउनुभयो । विसं २०१८ मा फेवाताल १० वर्ग्किलोमिटर थियो । तर २०६४ मा केन्द्रीय नापी विभागको सर्भेमा ४ दशमलव २० वर्ग्किलोमिटरमा सीमित भएको देखिएको छ ।