पर्यटनका लागि तीन करोडको लागतमा कृत्रिम ताल

तनहुँ, १८ माघ २०७५ : तनहुँको घिरिङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले तीन करोडको लागतमा कृत्रिम तालको निर्माण हुने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो घुमाउने तालका लाागि तत्काल आवश्यक जग्गा अधिग्रहण गरिनेछ । सो तालका बीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ । सो ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालू आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका एक्लैको बजेटले ताल निर्माण पूरा नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग आर्थिक सहयोग गर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनुभयो ।

विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समेत तयार भइसकेकोे र सो ताल शुरु भएको तीन वर्ष्भित्र सक्ने लक्ष्य राखिएको छ । अध्यक्ष रानाले भन्नुभयो, “डुङ्गा चढेर तालको बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवाताल जस्तै गरी विकास गरिनेछ ।” ताल वरपरका क्षेत्रमा रेस्टुराँ, पिकनिकस्थलसमेत सञ्चालन गर्ने योजना बनाइएको उहाँको भनाई छ ।