चितवनमा पर्यटकीय पार्क

भरतपुर, २२ माघ २०७५, पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डिपिआर निर्माण सकिएसंगै एक महीनाभित्र काम शुरु गरिने उपभोक्ता समूहका अध्यक्ष केदार आचार्यले जानकारी दिनुभयो । करीब १० लाखको लागतमा स्वराज कन्सल्टेन्टले डिपिआर निर्माणको काम सम्पन्न गरेको हो ।
बहुवर्षीय योजनाको रुपमा रहेको पार्क सात करोड ५० लाख लागतमा पाँच वर्ष्भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । घुम्न आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्नुका साथै वनस्पतीसम्बन्धी शिक्षा दिनु पार्क निर्माणको मुख्य उद्देश्य राखिएको सो पार्क निर्माणाधीन अवस्थामा नै तीन वर्षमा सञ्चालन गर्ने सामुदायिक वनको तयारी छ ।

इको टुरिजम पार्कमा आकर्षक बगैँचा, पौडीपोखरी, भोजस्थल, विभिन्न आकर्षक पुल, विश्रामस्थल, चौतारो, टिकट घर, पार्किङस्थल, शौचालयलगायतका भौतिक संरचना निर्माण हुनेछन् । पार्क निर्माणका लागि प्रदेश नं ३ सरकारले तीन करोड विनियोजन गरेको छ भने राप्ती नगरपालिका र सामुदायिक वनले समेत बजेट विनियोजन गरेका छन्।