प्रमुख पर्यटकीय पदमार्ग ठप्प

इलाम, २८ माघ ): प्रदेश नं १को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको छ । वर्षात्पछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न सकेका छैनन् ।

पर्यटकीय क्षेत्रको पदमार्ग शुरु हुने मानेभञ्ज्याङस्थित लामीधुरादेखि तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरसम्म शनिबार बाक्लो हिमपात भएको थियो ।

सन्दकपुर क्षेत्रमा पर्यटकको सुविधाका लागि चल्दै आएका गाडीहरू हिमपातका कारण सूर्योदय नगरपालिका–१ स्थित लामीधुरामै बसेका छन् । माईजोगमाई गाउँपालिकास्थित कृषि अनुसन्धान परिषद्को अनुसन्धान केन्द्र रहेको जौबारीसम्मको सडकमा रहेको हिउँ सोमबार बेलुकीसम्ममा पग्लिसक्ने भए पनि सन्दकपुरमा अझै सात दिनसम्म गाडी नचल्ने यातायात व्यवसायीले जनाएका छन् ।