तनहुँ— तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ । सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको स्थलमा निर्माण हुने पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यसहित पार्कले रु १६ लाखको लागतमा वनभोजस्थल निर्माण गरेको हो ।
पार्कका कोषाध्यक्ष एकबहादुर रानाले पार्क्भित्र दुई वटा भवनसहित वनभोजस्थल निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वनभोजमा आउने पर्यटकको सुविधाका लागि खानेपानीको व्यवस्थासमेत गरिएको छ भने शौचालयसमेत निर्माण गरिएको छ । पार्कको बृहत्तर विकासका लागि गुरुयोजनासमेत बनाइएको छ । गुरुयोजनाले पार्कलाई पाँच भागमा विभाजन गरी त्यसभित्र बन्ने संरचनालाई समावेश गरेको छ । जसअनुसार पहिलो भागमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शौचालय, प्रतिक्षालय निर्माण गरिनेछ ।