युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

चैत २०७५ काठमाडौँ, सरकारले, नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला पाम्पाओलिनीसँग नेपाली विमान उडानमा लगाइएको प्रतिवन्ध हटाउन आग्रह गर्नुभएको हो । परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री ज्ञवालीले नेपालले नागरिक उड्डयन सुरक्षाका कुनै पनि विषयमा सम्झौता नगरेको र त्यसप्रति अति संवेदनशील रहेको भन्दै प्रतिवन्ध हटाउन ध्यानाकर्षण गराउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको विकासको भरपर्दो साझेदार युरोपेली सङ्घलाई कृषि, पर्यटन, ऊर्जाका क्षेत्रमा लगानी गर्न सङ्घका सदस्य देशका लगानीकर्तालाई आह्वान गर्दै मन्त्री ज्ञवालीले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा अधिकाधिक युरोपेली उद्यमी–व्यवसायीलाई सहभागिताका निम्ति अभिप्रेरित गर्न आग्रह गर्नुभयो ।