पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष

चैत २०७५ काठमाडौँ,

प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ। प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्यक्रम स्विकृत गरेसँगै लुम्बिनी भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।

आउँदो बुद्ध पूर्णिमाका दिन भव्य समारोह गरी भ्रमण वर्षको आरम्भ गर्ने तयारी छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापनमा टेवा पु¥याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गरेको होे । मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेहरुलाई समेटेर प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिने छ । यस्तै, लुम्बिनी फुड फेस्टिवल, सुजाता खीर उत्सव, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुल मून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, पूजाआजा, योग तथा ध्यान शिविर र सडक प्रदर्शनीको आयोजना गरिने छ ।
यसैगरी, विश्व शान्ति सुमधुर साँझ, पथप्रदर्शक तथा स्वयंसेवक तालीम, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रमहरु तय गरिएका छन् । कार्यक्रमका लागि पर्यटन मन्त्रालयले ४ करोड १९ लाख ६० हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।

लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङकअनुसार एक वर्षमा सरदर १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् ।